प्रिय विद्यार्थीहरू, शिक्षक–शिक्षिकाहरू, अभिभावकज्यूहरू तथा सम्पूर्ण शुभेच्छुकहरू!
आजको युग डिजिटल युग हो। सूचना, ज्ञान, सिकाइ तथा विद्यालयका विभिन्न गतिविधिहरूलाई प्रविधिसँग जोड्दै अगाडि बढ्नु आजको आवश्यकता हो। यही सोच र उद्देश्यका साथ हाम्रो विद्यालयमा पनि एउटा व्यवस्थित, उपयोगी र सबैका लागि सहज विद्यालय वेबसाइट हुनुपर्छ भन्ने मेरो सोच थियो। आज त्यो सोचले मूर्त रूप लिएकोमा मलाई खुसी लागेको छ । विद्यालयको वेबसाइट केवल सूचना राख्ने माध्यम मात्र नभई विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालयबीचको सहकार्य र सञ्चारलाई अझ प्रभावकारी बनाउने डिजिटल माध्यम बन्न सक्छ भन्नेमा म पूर्ण विश्वस्त छु। यसमार्फत विद्यालयका महत्वपूर्ण गतिविधि, सूचना, कार्यक्रम, उपलब्धि, शैक्षिक सामग्री तथा आवश्यक जानकारीहरू एउटै स्थानबाट सहज रूपमा प्राप्त गर्न सकिनेछ भन्ने मेरो विश्वास छ।
विद्यार्थीहरूका लागि:
विद्यार्थीहरूले वेबसाइटमार्फत आफ्नो अध्ययनसँग सम्बन्धित नोट्स, प्रश्न–उत्तर, अभ्यास सामग्री, गृहकार्य, परीक्षा सम्बन्धी सूचना, शैक्षिक सामग्री, महत्वपूर्ण सूचनाहरू तथा विभिन्न सिकाइ स्रोतहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्। विशेषगरी म गणित विषयसँग सम्बन्धित विभिन्न शैक्षिक सामग्री तथा अभ्यासहरू उपलब्ध गराउँदै आएको छु। गणित शिक्षकको रूपमा आगामी दिनमा पनि गणित विषयका सामग्रीहरूलाई थप व्यवस्थित र उपयोगी बनाउँदै लैजाने मेरो प्रयास रहनेछ। साथै, अन्य विषयहरूका उपयोगी शैक्षिक सामग्रीहरूलाई पनि विद्यालयको वेबसाइटमा क्रमशः समेट्दै जाने प्रयास गरिनेछ।
शिक्षक–शिक्षिकाहरूका लागि:
शिक्षक–शिक्षिकाहरूले आवश्यक शैक्षिक सामग्री, प्रश्नपत्र, Model Questions, Notes, Teaching Materials तथा अन्य उपयोगी स्रोतहरू एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन्। साथै, आवश्यक शैक्षिक सामग्रीहरू आदान–प्रदान गर्न तथा डिजिटल माध्यमबाट सहकार्य गर्न पनि वेबसाइट उपयोगी बन्न सक्छ।
अभिभावकहरूका लागि:
अभिभावकहरूले विद्यालयका महत्वपूर्ण सूचना, कार्यक्रम, गतिविधि, उपलब्धि, परीक्षा सम्बन्धी जानकारी तथा अन्य आवश्यक सूचनाहरू घरमै बसेर सहज रूपमा हेर्न सक्नेछन्। यसले विद्यालय र अभिभावकबीचको सम्बन्ध तथा सञ्चारलाई अझ प्रभावकारी बनाउन सहयोग गर्नेछ।
विद्यालयको पहिचान र पहुँचका लागि:
हाम्रो विद्यालयका गतिविधि, उपलब्धि, शैक्षिक वातावरण तथा विभिन्न कार्यक्रमहरूलाई डिजिटल माध्यमबाट प्रस्तुत गर्न सक्दा देश–विदेशमा रहेका पूर्वविद्यार्थी, अभिभावक, शुभेच्छुक तथा विद्यालयप्रति रुचि राख्ने व्यक्तिहरूले पनि विद्यालयबारे जानकारी प्राप्त गर्न सक्नेछन्। यसले विद्यालयको डिजिटल पहिचान र पहुँचलाई अझ फराकिलो बनाउन महत्वपूर्ण सहयोग पुर्याउनेछ। मैले विद्यार्थी तथा शिक्षकहरूका लागि विद्यालयको वेबसाइटमा के–कस्ता सामग्री र सुविधाहरू राख्न सकिन्छ भन्ने सम्बन्धमा विभिन्न विचारहरू प्रस्तुत गर्दै आएको छु। वेबसाइटलाई सकेसम्म सरल, व्यवस्थित र प्रयोग गर्न सहज बनाउने प्रयास गरिएको छ, ताकि आफूलाई आवश्यक जानकारी कुन स्थानमा र कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा सबैले सजिलै बुझ्न सकून्। आगामी दिनमा यस वेबसाइटलाई अझ व्यवस्थित, उपयोगी र विद्यालयका विभिन्न गतिविधिसँग जोडिएको एकीकृत डिजिटल माध्यम बनाउने मेरो निरन्तर प्रयास रहनेछ। आवश्यकताअनुसार विभिन्न सूचना, शैक्षिक सामग्री, कार्यक्रम तथा अन्य उपयोगी सेवाहरूलाई पनि यसमा थप्दै जाने योजना रहेको छ। त्यसैले मेरो सबैमा एउटै अनुरोध छ—समय–समयमा विद्यालयको वेबसाइट भ्रमण गरिरहनुहोस्। वेबसाइटमा कुनै कमजोरी, समस्या वा सुधार गर्नुपर्ने विषय देखिएमा आफ्नो स्पष्ट नामसहित सुझाव वा प्रतिक्रिया दिनुहोस्। वेबसाइटमै प्रतिक्रिया तथा सुझाव दिने व्यवस्था पनि राखिएको छ। तपाईंहरूको सुझाव, प्रतिक्रिया र सहकार्यले वेबसाइटलाई अझ राम्रो, उपयोगी र प्रभावकारी बनाउन ठूलो सहयोग पुग्नेछ।
मेरो व्यक्तिगत वेबसाइटसम्बन्धी:
मैले केही वर्षदेखि आफ्नो व्यक्तिगत वेबसाइट rakeshghimire.com.np मार्फत पनि विभिन्न शैक्षिक सामग्री तथा उपयोगी सेवाहरू उपलब्ध गराउँदै आएको छु। विशेषगरी गणित शिक्षक तथा विद्यार्थीहरूका लागि उपयोगी सामग्रीहरू उपलब्ध गराउनेतर्फ मेरो विशेष ध्यान रहनेछ। साथै, अन्य विषयहरू, विशेषगरी सामाजिक विषयलगायतका शैक्षिक सामग्रीहरू पनि आवश्यकताअनुसार समेट्दै जाने प्रयास गरेको छु र आगामी दिनमा अझ धेरै उपयोगी सामग्रीहरू थप्दै जानेछु। त्यसैले विद्यार्थी, शिक्षक तथा अभिभावकज्यूहरूलाई मेरो व्यक्तिगत वेबसाइट पनि समय–समयमा भ्रमण गरिदिनुहुन अनुरोध गर्दछु। आफूलाई आवश्यक पर्ने शैक्षिक सामग्री तथा अन्य उपयोगी जानकारीहरू त्यहाँबाट पनि प्राप्त गर्न सकिनेछ। अन्ततः, यो वेबसाइट केवल मेरो व्यक्तिगत प्रयास मात्र नभई विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयसँग सम्बन्धित सबैका लागि उपयोगी डिजिटल साझा माध्यम बन्न सकोस् भन्ने मेरो उद्देश्य हो। प्रविधिको यस युगमा हाम्रो विद्यालयलाई अझ डिजिटल, व्यवस्थित र सूचना–मैत्री बनाउने यस प्रयासमा सबैको साथ, सुझाव र सहयोगको अपेक्षा गर्दछु।
तपाईंहरूको निरन्तर भ्रमण, सुझाव, प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछु, धन्यबाद ।
Rakesh Ghimire






